नियम १४
उपभोक्ता समूहको काम, कर्तव्य र अधिकार
नियम १३ बमोजिम गठन भएको उपभोक्ता समूहको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) वन, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने,
(ख) आफ्नो क्षेत्रका वन, वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण गर्ने,
(ग) आफ्नो क्षेत्रमा भएका पर्ति जग्गामा वृक्षारोपण गर्ने,
(घ) आफूले जिम्मा लिएको वा आफूलाई हस्तान्तरण भई आएका योजनाहरूको सञ्चालन र कार्यान्वयन गर्ने,
(ङ) आफ्नो क्षेत्र भित्रको वनको अतिक्रमण हुनबाट जोगाउने,
(च) आफूले सम्पन्न गरेका योजनाको सञ्चालन र मर्मत सम्भारको व्यवस्था मिलाउने,
(छ) आफु मातहतका उपभोक्ताहरूलाई आफ्नो क्षेत्रको जैविक विविधताको संरक्षण तथा व्यवस्थापनका लागि परिचालन गर्ने,
(ज) आफ्नो क्षेत्रभित्र सञ्चालन हुने योजनाहरू सम्पन्न गर्न आवश्यक पर्ने श्रमदान जुटाउने,
(झ) योजना सञ्चालन गर्न र मर्मतसम्भार गर्न सम्बन्धित समितिलाई आवश्यक सहयोग गर्ने,
(ञ) आफ्नो क्षेत्रमा सम्पन्न भएका योजनाहरूको मर्मतसम्भार शुल्क उपभोक्ताहरूबाट संकलन गर्ने,
(ट) आफुले सञ्चालन गर्ने कार्यक्रमहरूको आर्थिक तथा अन्य आवधिक विवरण उपभोक्ताहरूलाई भेला गराइ सार्वजनिक गर्ने,
(ठ) आफुले कार्यान्वयन गरेका योजनाको आम्दानी खर्चको हिसाव दुरुस्त राखी उपभोक्ताहरूलाई भेला गराइ जानकारी गराउने,
(ड) आफुले सञ्चालन गर्ने योजनाको वारेमा त्यस्तो योजना कार्यान्वयन गर्नु अघि उपभोक्ताको भेला गराइ सम्पूर्ण विवरण सार्वजनिक गर्ने,
(ढ) समितिले दिएको मार्गदर्शनको पालन गर्ने, गराउने,
(ण) सम्बन्धित समितिले तोकेका अन्य कार्यहरू गर्ने ।